त्रिशुली नदीमा बेपत्ता यात्रुमध्ये १३ जनाको शव भेटियो
चितवन | साउन १, २०८१
चितवन: चितवनको भरतपुर–२९ सिमलतालमा शुक्रबार बिहान गएको पहिराले बगाएर बेपत्ता भएकामध्ये १३ जनाको शव भेटिएको छ । नवलपुरमा नौवटा शव भेटिएका छन् ।
चितवनमा तीन र नवलपरासी, बर्दघाट–सुस्तापश्चिममा एउटा शव भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले हिजो मात्रै जिल्लामा चारवटा शव भेटिएको जानकारी दिनुभयो ।
नवलपुरमा हालसम्म भेटिएका नौ शवमध्ये पाँचको पहिचान खुलेको र ती बेपत्ता बसका यात्रु रहेको पुष्टि भएको पौडेलले जानकारी दिनुभयो । शव पहिरोमा परेर बेपत्ता भएका यात्रुको हुनसक्ने भन्दै सोहीअनुसार अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक पौडेलको भनाइ छ ।
हिजो बिहान गण्डक ब्यारेज पुलमा भेटिएका दुई शवमध्ये एउटा करिब १९ वर्षीया महिला र अर्को करिब ३० वर्षीय पुरुष रहेका प्रहरीले जनाएको छ ।
यस्तै मध्यविन्दु–२ भुताहास्थित नारायणी नदीको टापुमा भेटिएको शव करिब ४५ वर्षीय पुरुषको तथा विनयी त्रिवेणी गाउँपालिका–७ गण्डक ब्यारेजको पुलमा करिब १३ वर्षीय बालकको रहेको पौडेलले जानकारी दिनुभयो ।
जिल्लाको गैँडाकोट–७ गैरीमा भेटिएका दुईवटा शवमध्ये एउटा सर्लाहीको बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमित कसुर माझी र अर्को चितवनको माडी–१ का २२ वर्षीय विकास परियारको भएको पौडेलले बताउनुभयो ।
माझीको शव बुवा रवीन्द्र कुसर माझीले तथा परियारको शव दाजु विजय परिवारले पहिचान गर्नुभएको थियो । माझी काठमाडौँबाट रौतहट जाने गणपति डिलक्स र परियार वीरगञ्जबाट काडमाडौँ जाँदै गरेको एन्जल डिलक्समा सवार यात्रु भएको जनाइएको छ ।
शनिबार गैँडाकोट–७ गैरीमा भेटिएको अर्को शव भारतको बिहार राज्यस्थित बेतियाका ३० वर्षीय सजाद अन्सारी भएको पौडेलले जानकारी दिनुभयो । यस्तै आइतबार साँझ जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित ब्यारेजको गण्डक नहरमा भेटिएका दुवै शवको पहिचान भएको छ ।
गण्डक नहरमा भेटिएकामध्ये एउटा चितवनको भरतपुर–२२ का २३ वर्षीय सुदीप विक रहेको बुवा सोमबहादुर विकले पहिचान गर्नुभएको थियो । सुदीप वीरगञ्ज जाँदै गरेको एन्जल डिलक्सका यात्रु हुनुहुन्छ । यसैगरी अर्को शव रौटहटको जमुनामाई गाउँपालिका–४ का १७ वर्षीय राहुम मियाको भएको उहाँका बुवा इस्लम मियाले पहिचान गर्नुभएको छ ।
पहिरामा परी बेपत्ता भएकामध्ये चितवनतर्फ भारतको सीतामाडी बर्गिनियाका २८ वर्षीय ऋषिपाल साह, भारतकै सीतामाडी बेतियाका ३० वर्षीय जयप्रकाश ठाकुर रहेका छन् ।
आइतबार नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) मा भेटिएको शव बाराको साविक विश्रामपुर गाविस–४ का ४३ वर्षीय परमानन्द पण्डितको भएको र अर्का करिब ३५ वर्षीय पुरुषको पहिचान हुन नसकेको जनाइएको छ ।
हालसम्म तीनवटा जिल्लामा भेटिएका १३ वटा शवमध्ये पाँचवटा शवको पहिचान हुन सकेको छैन । पहिचान खुलेका सबै शव चितवनको भरतपुर अस्पताल पठाइएको र बाँकी शवको पहिचान खुलेपछि भरतपुर पठाइने प्रहरी नायब उपरीक्षक पौडेलको भनाइ छ ।
सिमलताल पहिरोमा परेर हराएको वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एन्जल डिलक्सको बसमा कम्तिमा २४ जना र काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको गणपति डिलक्समा कम्तीमा २७ यात्रु रहेको चितवन प्रशासनले जनाएको छ । बसमा सवार यात्रुमध्ये तीनजना त्रिशूली नदीमा पौडी खेलेर बाँच्न सफल भएका थिए ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

